welcome

Saturday, May 23, 2009

कविता

नयाँ बर्षले
चैते हुरी र चर्को घामको राप बोकेर
फेरी आयो नयाँ बर्ष
गुराँसको लाली अनि
पालुवाको हरियाली बोकेर ।
आँधि हुरी संग जुध्दै
चर्को घामको सामना गर्दै
गुराँस र पालुवाले
स्वागत गरे नयाँ बर्षलाई
अनि
शुभ कामना बाँढे
समस्या संग जुध्ने
र, अप्ठेरोहरु पार गर्ने ।
यो मौकामा कामना गर्नु छ
भोलीका पलहरुमा
यस बर्षका दिनहरुमा
विगतका विपत्तीहरु भोग्न नपरोस्
कोशीले बस्तिहरु नबगाओस्
कृष्णभिरहरु फेरी नबगुन्
कामना गर्नुछ
सिटामोल नपाएका कर्णलीबासीलाई
चामल नपाएका हुम्लाबासीलाई
नुन नपाएका जुम्लाबासीलाई
यो बर्षचामल र नुन सगैं
टाउको दुख्दा खाने सिटामोल पनि पुगोस्
अनि कामना गर्नुछ
बन्द, हड्ताल र चक्काजाम
कहिले पनि नहोस्
स्कुल, अस्पताल र सडकमा ।
अब कुनै नेपाली सडक उत्रन नपरोस
आफ्नो अधिकारका लागि
अब कोही सहिद बन्न नपरोस
हो, अहिले त संविधान बन्दैछ नी
यो संविधानका धारा र उपधारा
नुन नपाउने जुम्लाबासी देखी
कन्टेनरमा फोहर टिप्ने बालबालीका सम्म
केचनाबासी देखी
नाम्चे बजार बासी सम्म
सबैका भावना र चाहनामा केन्द्रित होस्
कामना गर्नुछ
यो बर्ष अर्थात नयाँ बर्षे
सुख शान्ति र संवृद्धि सगै
हक अधिकार ग्यारेन्टि गरोस्
सारा नेपालीको
माया, सदभाव र भातृत्व बाढ्दै
नेपाली नेपाली विचमा
भाईचारा र बन्धुत्वको नाता गाढा होस्
कामना गर्नुछ
नयाँ बर्षसगै
साच्चिकै नयाँ नेपाल निमार्ण होस् ।
मुक्तक
भिर भरी लाली गुँरास ढकमक्क फुलाएर
तर्राईका फाट भरी नव पल्लव चुमाएर
उमंगको लहर बोकी फेरी आयो नयाँ बर्ष
दिन महिना ऋतु सबै एक चक्कर घुमाएर ।
. बैशाख २०६६

Saturday, February 14, 2009

केहि प्रणय मुक्तकहरु















ढुकुरका जोडी जस्तै साथ भए राम्रो,
यात्राभरी साथ दिने हात भए राम्रो,
खै के गरौ कामना म प्रणय दिवसको,
हाम्रो सम्बन्ध अझै प्रगाढ भए राम्रो ।











मिर्मिरेका शीतका थोपा बिहानीमा बिलाउछन् ,
गुलाबका पत्र भित्रै आफ्नो जिवन मिलाउछन् ,
त्याग अनि समर्पण यस्तै हुन्छ प्रेममा,
त्यसैले त दुइ मन एकैपारी सिलाउछन् ।


















चिसो बतास निर्झर झरना झै कन्चन हुन्छ प्रेम,
संवेगका लहर सगैं भिड्भाडमा पनि मञ्चन हुन्छ प्रेम,
जीवन जस्तै यस्लाइ पनि बुझ्न सक्नु पर्छ,
सम्बन्धलाइ प्रगाढ पार्ने कसिलो बन्धन हुन्छ प्रेम ।



जुनको शितल धुनको राग सबै तिम्रा लागी,
गुलावको लाली अनि पराग पनि तिम्रालागी,
बेजानछु सबै कुरा तिमीलाइ हुन्छ हुन्न
हांसो खुसी उमंगका थाक सबै तिम्रालागी ।










चाहनाका कुरा गर्दै भावनाहरु सट्नु पर्छ ,
वेग्ला वेग्लै लक्ष्यहाम्रा एउटै पारी बाट्नु पर्छ,
माया गर्ने प्रीत बाढ्ने मनै त हुन सबै हाम्रा,
आजै त हो प्रणय दिवस हामीले माया बाढ्नु पर्छ
+++++++++++++++++++++
आज फ्रेब्रुअरी १४ तारिख प्रणय दिवस विश्वभरका युवायुवती तथा विवाहित जोडीहरूले एकआपसमा प्रेम साटासाट गरिरहेका छन् । सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस द्वितीयले मृत्युदण्ड दिएको घटनालाई स्मरण गर्दे यो दिवस मनाउन थालिएको हो । क्लाउडियसले प्रेम र विवाहले सेनालाई कमजोर बनाउने भन्दै सेनालाई प्रेम र विवाह गर्नमा प्रतिबन्ध लगाएका थिए । क्लाउडियसको यो प्रतिबन्ध विरुद्ध विद्रोह गरे बापत सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको थियो ।
इशापुर्व २७० देखी सुरु भएको यो दिवस हिजोआज प्रेमीप्रेमिका र विवाहित जोडीहरूबीच उपहार आदानप्रदान र प्रेम साटासाट गर्ने दिवसका रूपमा विकसित हुँदै गइरहेको छ ।
नेपाली समाज विशेष गरी युवा वर्गमा लोकप्रिय बन्दै गएको यो दिवसले नेपाली संस्कृतिमा पश्चिमा प्रभावको रूपमा उत्तिकै आलोचना हुने गरेको छ ।
हाम्रो समाजमा पनि यो दिवस उक्तिकै महत्वका साथ मनाउन थालिएको छ । बिशेष गरि किशोर किशोरीहरु बिहानै देखी विभिन्न पार्क र मनोरमस्थलमा भेटघाट गरिरहेका छन ।

Thursday, December 25, 2008

गीत

नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर ।
सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर ।

प्रेम भन्ने यस्तै चिज हो, एक आपसमा विश्वास हुन्छ ।
जानिदैन के गरेर , दुइ मुटु एकै हुन्छ ।
भौतिक वस्तु नभएनी, बन्छ यौटा सुन्दर घर ।
नियम कानुन .......

यात्रा गर्दा मोडहरु, बदलिए जस्तै गरि ।
प्रेम भित्र स्वार्थ लुक्छ, डाडाँ परि घाम झै गरी ।
त्यती वेला सहयात्रा, हुन्न भन्ने हुन्छ डर ।
नियम कानुन .......

नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर ।
सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर ।

गीत

मेरोमन जुठोपारी अर्कातिर लिपपोत गर्‍यौ ।
नजानिदों बाहाना गरी जानाजानी तिमी सर्‍यौ ।

दिनु थियो धोका किन विश्वासको कुरा राख्यौ,
दुइ चार दिन साथ दिई के का लागि मन चाख्यौ ।
जङ्घार सम्म संगै लग्यौ मलाई छाडी एक्लै तर्‍यौ ।
मेरो मन.................

धेरै विश्वास गरें मैले आफै बाट भएं टाढा,
गरिबीमा बाच्नेलाई त हुन्न रैछ प्रीत गाढा ।
मेरो झुप्रो खाली छाडी खै कस्को महल भर्‍यौ ।
मेरो मन.......................

मेरोमन जुठोपारी अर्कातिर लिपपोत गर्‍यौ ।
नजानिदों बाहाना गरी जानाजानी तिमी सर्‍यौ ।

गीत

तिमी हिड्ने गोरेटोमा एउटा काँढा हुनु हुन्न ।
तिमीलाई बर्षात्को पानीले नी छुनु हुन्न ।

अन्जान छु तिम्रो लागी म त अझै पनि ,
मन्मा चाँही मेरो बस्यौ जूनतारा बनि ,
अधुरो जिवन मेरो तिमी विना पुर्ण हुन्न ।
तिमी हिड्ने गोरेटोमा ...........

नवोले नी म संग त गुलाफ झैं मुस्कान तिम्रो,
हेर्दा हेर्दै दगं पार्ने सुन्दर मुहार तिम्रो ,
मेरो एउटा चाहना तिमी अरुको हुनुहुन्न ।
तिमी हिड्ने गोरेटोमा............

धेरै भेटे संसारमा तिमी जस्तो एउटै छैन ,
फूलसंगै दाँज्दा पनि कुनै फरक पाइदैन ,
एउटै मात्र विन्ती मेरो तिमी निर्दयी बन्नुहुन्न ।
तिमी हिड्ने गोरेटोमा.............

Friday, December 19, 2008


हिन्दुहरुका आराध्ययदेव पशुपति नाथ

Friday, December 12, 2008

गजल

भावनाको कुरा गरी घाम जुन छुने मान्छे ।
पिरतीका कुरा गर्दै पाराइ आफ्नो हुने मान्छे ।
बगरमा भेटिएका सुनै सुन का टुक्रा जस्तै ,
चम्काउन आफैलाइ बेस्सरी धुने मान्छे ।
जिन्दगीको यात्राभरी साथहरु कती कती ,
दुःख पर्दा अरुलाइ आफु पनि रुने मान्छे ।
सम्म, भिर, ठण्डा गर्मी हातेमालो हुने गर्छ,
बर्षत्को पानी जस्तै एकै ठाउ चुहुने मान्छे ।
देखासिकी चालवाजी यो त सब नाटक न भो,
खै के कुरा गरौ अब चाडै कठोर हुने मान्छे ।
मानवियता छैन अब फुट्को खेती सुरु भयो,
जता ततै पाइन थाले रगत पनि दुहुने मान्छे ।
रचना २०६५ मंसिर २७

Thursday, December 11, 2008

कविता

हामी परजीवि नभैदिएको भए
हामी आफ्ने खुट्टमा उभिने बेला भएको छ
आफ्नो कर्ममा अडिने बेला आएको छ
जंगली पशुहरु जस्तै आफ्नो खाना आफै खोज्ने
आफ्नो बास आफैले रोज्ने
आफ्नो खुसि आफै बोक्ने बेला आएको छ
किनकी
हामी अचेल धेरै परजीवि भएका छौ
परनिर्भरतामा अडेका छौ
आफ्नो पन नचिनेर
आफ्ना स्रोत उपयोग गर्न नसकेर
आखिर हामी पनि पशुजस्तै
खुला चउरमा रमाउन सके
चाहना र्रर् इच्छाहरु मैदानबाट पुरा गर्न सके
ऋण खोज्न जान पर्ने थिएन
अनुदान थाप्न हिड्न पर्ने थिएन ।
झरना, खोला र नदिबाट प्यास मेट्न सके
मिनरल वाट्रका वोतलहरु खरिद गर्न पर्ने थिएन
विभिन्न पदार्थ आयात गर्न पर्ने थिएन
हामी आत्मनिर्भर भैदिएको भए
हामी परजीवि नभैदिएको भए ।

गजल

हामी बोल्न सक्ने यौटा, रंगमञ्च हुन पर्छ ।
शब्द नौला विचार नौला, सबैलाई छुन पर्छ ।
कसैलाई विनासित्ति, आक्षेप त्यसै लाइनु हुन्न,
कुविचार हाम्रो पनि, मनलाई धुन पर्छ ।
हत्या हिसां चहिदैन, मानवियता साच्ने हामी,
लाठोलाउँ अशान्तिलाई, त्यसले त रुन पर्छ ।
कुरिती र अन्धसंस्कार, किन पाली राख्ने अझै,
खाड्ल भित्र थुपरी दिउँ, त्यसले त कुह्न पर्छ ।
एक्काईसौ सताब्दीमा, स्वच्छ समाज निर्माण गरौ,
नचाहिदा कुरा आफै, थुना भित्र पुन पर्छ ।
रचना - २०६१ असोज ८ गते

मुक्तक

गोरेटोको यात्राभरि गीत साँटे हुन्छ ।
मिल्छ भने तिम्रो मेरो रीत साँटे हुन्छ ।
बेग्ला बेग्लै मनलाई जोड्ने पुल बनाएर,
जुनी जुनी अमर रहने प्रीत साँटे हुन्छ ।
रचना - २०६१ कार्तीक १० गते